चौथो विश्व युद्धलाई परिकल्पना गरेर बनाइएको नेपाली गेम ‘वर्ल्ड वार फोर–एण्डगेम्स (World War 4 - Endgames) सार्वजनिक हुने भएको छ।
रणनीति बनाउँदै युद्ध लड्न सकिने गरी बनाइएको यो गेम आगामी चैत २२ गते सार्वजनिक गर्न लागिएकाे हो।
खासगरी नेपाली युवा पुस्तालाई लक्षित गरेर ल्याइएको वर्ल्ड वार फोर–एण्डगेम्स विकास गर्न २ वर्ष अध्ययन गरिएको एस्ट्रिक टेक्नोलोजी प्रालिले बताएकाे छ।
विश्वमा भएका विभिन्न युद्धका घटनालाई भर्चुअल माध्यमबाट वास्तविकतामा उतार्न एस्ट्रिक टेक्नोलोजी प्रालिले अनलाइन मल्टीप्लेयर रोल प्लेइङ्ग गेमलाई नेपाली प्रोडक्टको रुपमा डेभलप गरेको हो।
पछिल्लो समय नेपाली युवा विदेशी अनलाइन गेममा लिप्त छन्। तर, वर्ल्ड वार फोर–एण्डगेम्स अहिले बजारमा उपलब्ध विदेशी गेमभन्दा निकै फरक छ। यो एउटा स्ट्राटेजिक गेम हो। हिंसात्मक युद्धलाई प्रतिस्थापन गर्ने गरी यो गेम डिजाइन गरिएकाे छ।
पोडामाइब नेपालले डिजाइन र डेभलप गरेको यो गेम एकैचोटी लाखौं व्यक्तिले एक साथ खेल्न सक्ने छन्। वर्ल्ड वार फोर–एण्डगेम्सको स्टोरी सन् २०३० मा सेट गरिएको छ, जुन बेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ।
वर्ल्ड वार फोर–एण्डगेम्सका प्रोजेक्ट म्यानेजर अनुराधा भण्डारी भन्छिन्, ‘यो गेम टाउकोमा भुटु-टु गोलि हानेर खेल्ने जस्तो हिंसात्मक खेल नभएर रणनैतिक गेम हो’।
‘तेस्रो विश्व युद्धपछिको भताभुङ्ग स्थितिमा तपाईं आठओटा बाँकी देशहरु मध्ये कुनै एक देशको नागरिक हुनुहुनेछ जहाँ तपाईं काम गर्नुहुन्छ, पैसा कमाउनु हुन्छ, नयाँ कम्पनी खोल्नुहुन्छ, विभिन्न कच्चा पदार्थ तथा सामाग्री उत्पादन गर्नुहुन्छ, सयौं अन्य खेलाडीलाई रोजगारी दिनुहुन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सामान किनबेच गर्नुहुन्छ, शेयर बजारमा लगानी गर्नुहुन्छ, देशलाई आर्थिक रुपमा अब्बल बनाउनु हुन्छ र चाहिने बेलामा देशको लागी लड्नुहुन्छ।’
यो गेमले उत्साह तथा मनोरञ्जनका साथसाथै समूह व्यवस्थापन तथा टिम वर्कको विकास र शेयर बजारमा भएका जोखिम र अवसरलाई बुझ्नका लागी पनि मद्दत पुर्याउने प्रोजेक्ट म्यानेजर भण्डारीको भनाई छ।
यो गेमको प्रि रजिष्ट्रेशन केहिदिन अघि मात्रै खुला गरिएको थियाे।
World War 4 - Endgames को प्रि रजिष्ट्रेशन गर्न यहाँ क्लिक गर्नुहोस्।
हाल यो गेम एन्ड्रोइड तथा कम्प्यूटरमा उपलब्ध हुने कम्पनीले बताएकाे छ।
‘यो धेरै मेहेनत र लगनका साथ बनाइएको नेपालको पहिलो MMORPG (Massive Multiplayer Online Role Playing Game) लाई सबैले साथ दिनुहुनेछ भन्नेमा आशा राख्दछु,’ एस्ट्रिक टेक्नोलोजीका सिइओ अतितलाल श्रेष्ठले भने।
World War 4 - Endgames का मुख्य विशेषता
- प्रत्येक १०० दिनको एक सिजन हुनेछ
- विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास
- आर्थिक प्रभुत्वको लागि विभिन्न स्रोतहरुको उचित व्यवस्थापन
- वास्तविक बजार तथ्याङ्कमा आधारित स्टक मार्केट, जसले खेलाडीहरुलाई प्रत्येक १० सेकेण्डमा ताजा तथ्याङ्क सहित बजारको उतारचढावलाई बुझ्न सहयोग गर्नेछ।
- यो गेम निःशुल्क खेल्न पाइनेछ तर, विभिन्न चरित्रको पहिरनका लागि केही इन एप पर्चेजहरु छन्।
यो गेमको ट्रेलर यहाँ हेर्न सकिन्छ: